मातृभाषा लोप हुनबाट बचा‌औं

भाषा एउटा माध्यम हो । यो मानव अभिव्यक्त्तिको एउटा साधन हो । भाषा मानवीय वस्तु हो । यसलाई अस्पर्श्य वा अभौतिक साँस्कृतिक सम्पदा पनि भन्ने गरिन्छ । नेपालमा बोलिने सबै भाषाहरु सम्पूर्ण नेपाली जनताको साझा सम्पत्ति मानिन्छ । हजारौं हजार वर्ष पहिले हाम्रा पिता पुर्खाहरुले व्यवहारिक जीवनमा काम चलाउन भाषाको सृजना गरेका थिए । यसले अन्य जीवित प्राणीहरुभन्दा मानिस‍लाई फरक बनाइ दिएको छ । यदि भाषा नहुँदो हो त मानव जीवनको कल्पना पनि गर्न सकिँदैनथ्यो ।

भाषाको दृष्टिले नेपाल बहुभाषिक मुलुक हो । भाषा वैज्ञानिकहरुले नेपालमा बोलिने भाषालाई चार परिवारमा विभाजन गरेर हेर्ने गरिएको पाइन्छ । तिमध्ये पहिलो भारोपेली (नेपाली, मैथिली, भोजपुरी, अवधि आदि), दोस्रो चिन–तिब्बती (मगर, गुरुङ, वान्तवा, लिम्बु आदि) तेस्रो आग्नेयली (सतार, खडिया) र चौथो द्रावीडेली (झाँगड) रहेका छन् । नेपालमा बोलिने कुसुण्डा भाषा भने कुनै पनि भाषा परिवारसँग नमिल्ने हुनाले बेग्लै राखिएको पाइएको छ ।

नेपालमा गरीएको विभिन्न जनगणनाले नेपालमा बोलिने भाषाहरुको तथ्याङ्क फरकफरक देखाएको पाइन्छ । वि.सं. २००९/११ को जनगणनाले नेपालमा बोलिने भाषाहरुको संख्या ४४ ‌ओटा देखाएको छ । यसैगरी वि. सं. २०१८ मा ३६, वि. सं. २०२८ मा १७, वि. सं. २०३८ मा १८, वि. सं. २०४८ मा ३१, वि. सं. २०५८ मा ९२ र वि. सं. २०६८ मा १२३ भाषाहरु रहेको उल्लेख गरिएको छ । यसरी विभिन्न जनगणनामा भाषाहरुको संख्यामा अन्तर हुनाको कारण भाषालाई कम महत्व दिइनु हो र भाषिक चेतनाको अभाव पनि मान्न सकिन्छ । देशमा पञ्चायतकालमा लिएको ‘एउटै भाषा, एउटै भेष’ को समिश्रणवादी नीतिले गर्दा पनि वि. सं. २०२८ र वि. सं. २०३८ सालको जनगणनामा भाषाहरुको संख्या थोरै (त्रमश: १७ र १८) देखिएको सजिलै बुझ्न सकिन्छ । व्यवस्थामा आएको परिवर्तन र भाषिक चेतनामा आएको जागरणले वि. सं. २०६८ सालको जनगणनाले नेपालमा बोलिने भाषाहरुको तथ्यङ्क १२३ पुगेको छ । नेपालजस्तो बहुभाषिक मुलुकमा बोलिने भाषाहरुको सही जानकारीको लागि वृहत् वैज्ञानिक भाषिक सर्वेक्षण गर्नुपर्ने टड्कारो आवश्यकता बनेको छ ।

हाल नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागु भएको छ । यही नेपालको संविधान, २०७२ धारा ६ मा नेपालमा बोलिने सबै भाषाहरु राष्ट्रभाषा हुन् भन्ने मान्यता दिइएको छ । यसैको धारा ७ (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ, भनिएको छ । यसैगरी धारा ७ (२) मा अन्य  राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ, भनिएको छ । यसैको धारा ७ (३) मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ, भनिएको छ । तथापि भाषा आयोगको अध्यक्षमा डा. लवदेव अवस्थी नियुक्त्त भईसकेको स्थितिमा यस आयोगले अझै अन्य पदहरुमा नियुक्ति पाउन सकिरहेको छैन । भाषा आयोगले पूर्णता पाएको छैन ।

बच्चाले आफ्नो जन्म दिने आमाबाट सिकेको भाषा उसको मातृभाषा हो । आफूले बोल्दै आइरहेको भाषा सबैलाई प्यारो हुन्छ । त्यसमा बोल्न र लेख्न बन्देज लाग्यो भने उसले आफूमाथीको दमन सम्झन्छ । अन्याय भएको ठान्दछ । भाषिक मानव अधिकार खोसिएको ठान्दछ । यसरी अन्याय गर्ने नीतिको विरुद्व आवाज उठ्न थाल्दछ । र यसले ठूलो विद्रोहको रुप लिन पनि सक्दछ । यही भाषिक दमनको विरुद्वमा आवाज उठाउने काम तत्कालीन पूर्वी पाकिस्तान स्वतन्त्र भएपछि दुई भागमा विभाजित रहन पुग्यो –पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तान । पूर्वी पाकिस्तानको भाषा बंगाली हो भने पश्चिम पाकिस्तानको ऊर्दू । पाकिस्तानी सरकारले पूर्वी पाकिस्तानमा बंगाली भाषाको सट्टामा ऊर्दू भाषा जबर्जस्ती लागू गर्न खोज्यो । यही भाषिक दमनको विरुद्वमा ढाका विश्वविद्यालयका विद्यार्थीहरुले सशक्त आन्दोलनको घोषणा गरे । आन्दोलनले उच्चता प्राप्त गर्दै गयो । पाकिस्तानी सरकारलाई अप्ठ्यारो पर्दै जान थाल्यो । भाषिक आन्दोलनले उग्ररुप लिँदै जान थालेपछि प्रहरीले चर्को दमन गर्न थाल्यो । फलस्वरुप सन् १९५२ फेब्रुअरी २१ तारिखको दिन प्रहरीको गोली लागेर चार जना विद्यार्थीहरुको मृत्यु भयो । भाषिक दमनको विरुद्व संघर्ष गर्दा शहीद हुन पुगेका यी विद्यार्थीहरु भाषिक शहीद भए । यसै दिनदेखि आन्दोलनले व्यापकता पायो । आन्दोलनले युद्वको रुप लियो । हजारौं हजार मानिसहरु शहीद भए । कालान्तरमा यसले पाकिस्तानलाई विखण्डित गरिदियो । सन् १९७१ दिसम्बर १६ तारिखमा पूर्वी पाकिस्तान स्वतन्त्र भयो र बंगालबाट नयाँ देश बंगलादेश बन्यो । पश्चिम पाकिस्तानबाट पूर्वी पाकिस्तान छुट्टियो, स्वतन्त्रता प्राप्त भयो ।

बंगलादेशले भाषिक आन्दोलनमा शहादत प्राप्त शहीदहरुको सम्मान गर्न चाह्यो । यसको लागि सन् १९९८ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई मान्यता दिनको लागि संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश गर्न पुग्यो । यही प्रस्तावलाई सन् १९९९ फेब्रुअरी २१ तारिखमा युनेस्कोले  स्वीकार गर्यो र चारजना विद्यार्थीहरुले शहादत प्राप्त गरेको दिन फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने घोषणा गर्यो । त्यसपछि सन् २००० देखि नै फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा विश्वमा मनाउँदै आइरहेको छ । नेपालमा पनि विगत केही बर्ष पहिलेदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले यो दिवसको आयोजना गर्दै आइरहेको छ । यस वर्ष भने सन् २०१९ लाई “अन्तर्राष्ट्रिय मातृभाषा वर्ष” का रुपमा विश्वभरि नै मनाउने निर्णय युनेस्कोले गरेको छ ।

बर्षैपिच्छे आयोजना गरिने अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फेब्रुअरीले विश्वमा मातृभाषाको महत्वलाई दर्शाईरहेको छ । मातृभाषीहरुलाई भाषिक जागरणको सन्देश पनि दिइरहेको छ । मातृभाषालाई लोप हुनबाट बचाउँदै यसको संरक्षणमा जोड दिनुपर्ने चेतनाको विकास गराइरहेको छ । स्थानीय, प्रान्तीय र संघीय तीनवटै तहबाट स्पष्ट र प्रभावकारी भाषिक नीति आओस् तथा सबै भाषाभाषीहरुले मातृभाषाप्रति प्रेम दर्शाऔं, बोल्न नछोडौं, बोल्न सिकौं, सिकाऔं र मातृभाषामा अभिलेखीकरण गरौं । यही व्यवहार नै मातृभाषाप्रतिको सम्मान हुनेछ, भाषा पुस्तामा हस्तान्तरण हुनेछ । यसो गरेमा नै नेपालीको र नेपालको गौरव कायम राख्न सकिन्छ ।

सन्दर्भ: अन्तर्राष्ट्रिय मातृभाषा वर्ष–२०१९
फेब्रुअरी २१, २०१९ ‘आदर्श समाज’ मा प्रकाशीत

✍️ लोक बहादुर थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *